


राजधानीका लागि प्रदेश २ मा मतदान सुरु

जनकपुर – प्रदेश नम्बर २ को राजधानीका लागि मतदान शुरु भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।
प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।
अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति छ र यसमा सर्वसहमति जस्तै छ । तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो ।
अधिकांश सांसदले जनकपुरलाई नै राजधानी बनाइनुपर्ने बताएका छन् ।
प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरु उपर कुनै निर्णय हुने छैन । हाल प्रदेश सभामा १०४ जना सांसदमध्ये दुई तिहाइका लागि ७० मत चाहिन्छ ।

