कोभिड महामारीका बेला धनी व्यक्तिको सम्पत्ति दोबर, गरिब अझै विपन्नतातिर धकेलिए


एजेन्सी – कोभिड महामारी फैलिएका बेला विश्वका सर्वाधिक धनी मानिसहरू अझ बढी धनी भएको तर विपन्नतामा बाँचिरहेका मानिसहरू अझ गरिबीतिर धकेलिएको अक्सफाम नामक परोपकारी संस्थाले जनाएको छ।

उक्त संस्थाको प्रतिवेदनअनुसार विपन्न मानिसको आयका न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो। तर सन् २०२० को मार्चयता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति दुई गुनाभन्दा बढी भएको उसले जनाएको छ।

डाभोसमा वर्ल्ड इकोनमिक फोरमको बैठक सुरु हुँदा अक्सफामले विश्वमा व्याप्त असमानताबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। डाभोस बैठकमा हजारौँको सङ्ख्यामा व्यापारिक तथा राजनीतिक नेताहरू, चर्चिव व्यक्ति, अभियानकर्मी, अर्थशास्त्री र पत्रकारहरू भेला हुने गर्छन्।

अक्सफाम जीबी (ग्रेट ब्रिटेन) का प्रमुख कार्यकारी धनञ्जयन श्रीस्कन्दराजाले अक्सफामले आर्थिक, व्यावसायिक र राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिको ध्यानाकृष्ट गर्न सकियोस् भनेर यो समयमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताएका छन्। ‘यो वर्ष जे भइरहेको छ त्यो मापन गर्न सकिनेभन्दा परको छ,’ उनले भने।

‘महामारीका बेला दिनदिनैजसो एउटा नयाँ अर्बपति थपिएका छन् जबकि विश्वको ९९ प्रतिशत जनसङ्ख्या लकडाउनका कारण सकसमा छ, अन्तर्राष्ट्रिय व्यापार कम भइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटकहरू कम छन् र त्यसको परिणामस्वरूप थप १६ करोड मानिसहरू गरिबीतर्फ धकेलिएका छन्।’

फोर्ब्सको तथ्यांकअनुसार संसारका १० सबैभन्दा धनी व्यक्तिमा एलन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नोल्ट, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जुकरबर्ग, स्टीभ बाल्मर र वारेन बफेट हुन्।

प्रतिक्रिया