

नेपालमा फेरि भित्रियो पश्चिमी वायु, अबकाे केही दिन वर्षा–हिमपातको सम्भावना

काठमाडौँ – नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव सुरु भएको हो। यसअघि हिजो साँझ ६ बजेको बुलेटिनमा नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको उल्लेख थियो।
आज बिहानको बुलेटिनअनुसार हाल प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम सामान्यतया सफा छ। तराईका धेरै स्थानमा हुस्सु कुहिरो लागेको छ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ।

