चीनले फेरि भन्यो नेपालसँग कतै सीमा विवाद छैन

हुम्ला, गोरखालगायतका जिल्लामा चीनले सीमा मिच्दा सरकार नै मौन


काठमाडौँ – नेपालस्थित चिनियाँ दूतावासले नेपालसँग कुनै पनि ठाउँमा सीमा विवाद नरहेको जनाएको छ। दूतावासद्वारा बिहीबार साँझ जारी प्रेस विज्ञप्तिमा चीन र नेपालबीच मित्रवत छलफलका माध्यमबाट सन् १९६० मै सीमा विवाद हल भइसकेको जनाइएको छ।

‘दूतावासले पटक—पटक प्रष्ट पारिसकेको छ कि चीन र नेपालले सन् १९६० मै मित्रवत छलफलपछि सीमासँग संबन्धित मुद्दा हल गरिसकेका छन्। दुई देशबीच कुनै पनि सीमा विवाद छैन।’

चिनियाँ दूतावासले नेपालको परराष्ट्र मन्त्रालयले पनि वक्तव्यमार्फत यसबारे प्रस्ट पारिसकेको जनाएको छ। नेपाल सरकारले टोली पठाएर स्थलगत अनुसन्धान पनि गरिसकेको दूतावासले स्मरण गराएको छ।

‘हाम्रो विदेश मामिलासँग संबन्धित दुवै देशका आधिकारिक निकायले सीमासँग सम्बन्धित बिषयमा राम्रो सम्पर्कमा छन्’, दूतावासले भनेको छ, ‘हामी आशा गर्छौं कि कुनै व्यक्ति विशेषले फैलाएका भ्रमपूर्ण रिपोर्टबाट नेपाली जनता दिग्भ्रमित हुने छैनन्।’

चीनले सीमा मिचेको दाबीसहित केही संस्थाले बुधबार मात्रै काठमाडौ र तराईका केही ठाउँमा विरोध प्रदर्शन गरेको सञ्चारमाध्यममा आएपछि दूतावासले वक्तव्य निकालेको हो।

नेपाल परम्परागत मित्रवत छिमेकी भएको बताउँदै दूतावासले चीनले दृढतापूर्वक शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तअनुसार नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको जनाएको छ।

‘चीनले नेपालसँग समानता, पारस्परिक लाभको आधारमा द्विपक्षीय मैत्री सम्बन्ध विकास गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा अडिग छ’, विज्ञप्तिमा छ।

चीनले नेपाललाई बेल्ट एन्ड रोड अवधारणाको महत्वपूर्ण साझेदार मुलुकका रुपमा ठानेको उल्लेख गर्दै नेपाललाई दिने सहयोगमा कुनै पनि राजनीतिक सर्त नजोडिने दूतावासले जनाएको छ।

कोरोना महामारी सुरु भएयता चीनले ठूलो परिमाणमा स्वास्थ्य सामाग्री, खोप र अक्सिजन उपलब्ध गराएको जनाउँदै त्यसले कोरोनाको असरविरुद्ध दह्रोसँग लड्न सहयोग गरेको दूतावासले उल्लेख गरेको छ।

दुई देशबीचको सीमा व्यापारमा देखिएको समस्याबारे चिनियाँ दूतावासले बोलेको छ।

‘निकै कठिनाईका बाबजुत चिनियाँ पक्षले अहिले एकतर्फी कार्गो यातायात खुला गरिसकेको छ। कार्गो सञ्चालन क्षमता निरन्तर रुपमा बढाउँदै लागेको छ’, उसले भनेको छ, ‘जसका कारण नेपालमा कोरोनाविरुद्ध लड्ने उपकरण तथा जनजीविकाका समाग्री ल्याउन ठूलो भूमिका खेलेको छ।’

चीनका विभिन्न विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीमा स्वदेश फर्केपछि चीन जान नपाएको प्रशंगमा दूतावासले विश्वभर नै महामारीले भौतिक आवागमनमा असहज पारिरहेको कुटनीतिक जवाफ दिएको छ।

‘सबै देशको अहिलेको प्राथमिकता भनेकै बेला महामारीविरुद्ध एकजुट भएर लड्नु र यसलाई परास्त गर्नु हो’, दूतावासले अगाडि भनेको छ, ‘हामी अबका दिनमा नेपाली पक्षसँग अहिलेका कठिनाई सामना गर्दै पूर्ववत् अवस्थामा अर्थतन्त्र फर्काउन र मानिसको अन्र्तक्रिया सुचारु बनाउन मिलेर काम गर्न प्रतीक्षारत छौँ।’ तर, चीनले हुम्ला, गोरखालगायत सीमा जोडिएका जिल्लामा अतिक्रमण भने गरिरहेको छ । हुम्लामा त चीनले नेपाली भूमिमा प्रशासनिक भवनसमेत बनाइसकेको छ । .

प्रतिक्रिया