धादिङमा पहिरो जाँदा डोजरसँगै पुरिएका अझै भेटिएनन्, आज पनि खोजी कार्य जारी


काठमाडौँ – धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा पुरिएका तीन जना अझै भेटिएका छैनन्। प्रहरीका अनुसार उनीहरूको अवस्था बिहीबार साँझसम्म पत्ता नलागेकाले खोजी जारी छ। हिजो रात परेको र सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले आज शुक्रबार बिहान फेरि खोजी सुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरु र लिङ्जो जोड्ने ट्रयाक सडक खन्ने क्रममा बिहीबार बिहान डोजरसहित यसका चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय बासिन्दा अनिश तामाङ पुरिएका हुन्।

प्रहरीका अनुसार पुरिएको बा २ क ४८२१ नम्बरको डोजर देखिएको छ। तर मानिस भेटिएको छैनन्। अहिले डोजर वरपरका रुख काट्ने र ढुंगा पन्छाउने काम भइरहेको छ। डोजरका चालक र सहचालक काभ्रेका हुन्, तर पूरा ठेगाना अझै पत्ता नलागेको धादिङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया