

प्रचण्डको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउनका लागि प्रचण्डले अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँने भएको हो ।
नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो ।
सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।
सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । प्रचण्डले दायर गरेको रिटमा अन्तरकालीन आदेश खारेजीको माग गरिएको छ ।

