पटक–पटक ‘तारो’मा वीर अस्पताल, वीर विरोधी नै प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त

आन्दोलन गर्ने तयारीमा कर्मचारी


काठमाडौं – स्वास्थ्यमन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. गुणराज लोहनी नियुक्त गरेका छन् । मन्त्रीस्तरीय निर्णयबाट २७ गते नियुक्त पाएका डा. लोहनी प्रतिष्ठानको ऐन विपरित अस्पतालभन्दा बाहिरको व्यक्ति प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएको बताउँदै वीर अस्पतालका कर्मचारीहरु विरोध गरिरहेका छन् ।

डा. लोहनी यसअघि विभिन्न अस्पतालहरुमा कार्यरत रहँदा असफल भएको बताउँदै पटकपटक असफल भइसकेको व्यक्तिले वीर अस्पताल जस्तो ठूलो संस्थामा नेतृत्व गर्दा झन् बेहाल हुने बताउँदै कर्मचारीहरुले विरोध गरेका हुन् । विभिन्न व्यक्तिहरूले आफू अनुकुलका व्यक्तिहरुलाई वीर अस्पताल नेतृत्वमा पठाउन खोज्नुले वीर अस्पताल पटकपटक उच्च पदस्थ व्यक्तिहरुको ‘तारो’मा परेको बताएका छन् ।

डा. लोहनी यसअघि स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पतालगायतका स्थानमा असफल र मेडिकल माफियासँग विशेषसम्बन्ध रहेको कर्मचारीहरुले आरोप लगाएका छन् । डा. लोहनीले पहिलेदेखि नै वीर अस्पताल विरोधी रवैया देखाउने बताउँदै उनले स्वास्थ्य मन्त्रालयमा रहँदा न्याम्सको सुधारमा अवरोध गरेको कर्मचारीहरुले बताएका छन् ।

उनले न्याम्सलाई स्वायत्त हुन नदिने, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्ने, सर्जिकल भवन सञ्चालनका लागि बजेट नदिने, दुवाकोट परियोजनामा अवरोध, कर्मचारीको तलब पटकपटक रोक्ने, समायोजन भएका कर्मचारीसँग आर्थिक लेनदेन गरी रमाना नदिने लगायतका कार्यमा संलग्न रहने गरेको अस्पताल स्रोतको दाबी छ । लोहनीको यस किसिमको कार्यको न्याम्सको बैठकमा पदाधिकारीहरुले नै पटकपटक उठाएकोले विवादित डा. लोहनीको नियुक्तिप्रति वीरका कर्मचारी र संघ संगठनहरुले विरोध गरेका छन् ।

कर्मचारीहरुले वीर अस्पतालबाहिरबाट आउने प्रमुख आफूहरुलाई अमान्य हुने बताउँदै पाँच महिनामात्र सेवा अवधि भएका लोहनीलाई नियुक्त गरिनु चलखेल रहेको बताएका छन् । यसअघि सरकारले गत जेठमा न्याम्स ऐन विपरित कोभिड–१९ युनिफाइड अस्पतालमा १२ औं तहसहित ८३७ दरबन्दीमा डा. लोहनीलाई पठाउन खोज्दा बजेट अभाव भएको भन्दै उनले वीर अस्पताल आउन अस्वीकार गरेका थिए । अहिले उनै डा. लोहनी वीरको प्रमुख भएर आउन राजी हुनुमा चलखेल रहेको स्पष्ट भएको वीर अस्पतालका उच्च तहका एक कर्मचारी बताउँछन् ।

लामो समयदेखि भ्रष्टाचारको दलदलमा फसेको वीरअस्पतालमा यस आर्थिक वर्षदेखि केही सुधारका संकेतहरु देखिइरहेको अहिलेको परिवेशमा पुनः यस्ता व्यक्तिहरुको आगमनले गुटतन्त्र, कमिशन, भ्रष्टाचार पुनः मौलाउने हो कि भन्नेमा वीरका कर्मचारीहरु शसंकित भएका छन् ।

अस्पतालमा अहिले कर्मचारीहरुले समयमै तलब पाउन थालेको, दैनिक २५ सय बढी बिरामीले सेवा लिँदै आएको, २४ सैं घन्टा पीसीआर परिक्षण हुँदै आएकोले पहिले भन्दा उपचारका लागि सहज भएको बिरामीहरु स्वयंले बताउने गरेका छन् ।

सुधारका संकेतहरु देखिइरहेको यस अवस्थामा वीर अस्पताल बाहिरका र विगतमा स्वच्छ छवि नभएका र असफल भएका व्यक्तिलाई नै पुनः वीर अस्पतालको साँचो सुम्पन नदिने पक्षमा अस्पतालका कर्मचारी, चिकित्सक, संघ संगठन रहेका छन् । उनीहरुले विवादित व्यक्तिलाई अस्पताल प्रवेशमा निषेध गर्ने, आन्दोलन गर्ने र अन्त्यमा कालोमोसो नै लगाउन परे पनि आफूहरु तयार रहेको बताएका छन् । साथै उनीहरुले डा. लोहनीको गैरकानुनी नियुक्तिविरुद्ध सतर्कता केन्द्र, अख्तियार र सम्पत्ति सुद्धिकरणलगायतमा उजुरी दिने तयारी समेत गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया