आजकाे माैसम : काठमाडौंसहित देशका विभिन्न स्थानमा पानी पर्ने


काठमाडाैँ –  नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ भने यतिबेला प्रदेश १ र प्रदेश २ लगायत पहाडी भेगमा सामान्य बदली र बाँकी स्थानमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) सुदूरपश्चिम प्रदेशमा आंशिक र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

साथै दिउँसो प्रदेश १, २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा  फाटफुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।  बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘त्यस्तो ठूलो वर्षाको सम्भावना छैन, फाटफुट र हल्का वर्षाको मात्र सम्भावना देखिन्छ’, मौसमविद् मानन्धरले भनिन् ।

उनका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ।

काठमाडौंको अपडेटसहित देशका विभिन्न स्थानका न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे प्रकाशन हुनेछ।

बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली भेगका थोरै स्थानमा हल्का  हिमपात हुने सम्भावना पनि छ।

यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया