भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण


काठमाडाैँ – 

भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सामान्य लक्षण देखिएको र शङ्का लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बस्नुभएको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ । ‘मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु’, सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् । रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन् ।

उनले पछिल्लो समय यही जनवरी ८ तारिखका दिन सैनिक विद्यालयमा महिला सैनिकहरु भर्ना भएकोसम्बन्धी एउटा वेविनारमा सम्बोधन गरेका थिए । भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्कले देखाएको छ ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा १३।२९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म चार हजार ३३ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिएका छन् । मन्त्रालयका अनुसार महाराष्ट्रमा एक हजार २१६, राजस्थानमा ५२९ र दिल्लीमा ५१३ जना ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।

 

प्रतिक्रिया