कालिञ्चोकमा हिउँ खेल्नेको भीड


कालिञ्चोक – दर्जनौं हिमालका समिपमा रहेको कालिञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उँचाइमा रहेको दोलखा जिल्लाको कालिञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ ।

 

केही समय अगाडि कालिञ्चोक सहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालिञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् ।

कालिञ्चोक कुरी बजारमा रहेको डिकी होटलका सञ्चालक राम तामाङ भन्छन्, ‘हिमपात पूर्वभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ । हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको छ । शुक्रबार त झन् थामिसक्नुहुँदैन ।’

कालिञ्चोक भगवती मन्दिर परिसर साथै वरपरबाट आँखै अगाडि देखिने गौरीशङ्कर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङ लगायतका हिमशृङ्खलाको कारण पनि कालिञ्चोकको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएको छ । हिमालै हिमालको बीच र हिउँ नै हिउँको पहाडमा रहेकी कालिञ्चोक भगवतीको दर्शनमा भने युवाभन्दा बढी पाको उमेरका भक्तजन आउने गरेका छन् ।

काठमाडौंबाट कालिञ्चोक आएकी रमिता रेग्मी भन्छिन्, ‘नजिकैबाट आजसम्म हिउँ देखेको थिइन् । हिमपात भयो भन्ने समाचार आउने बित्तिकै साथीहरु मिलेर घुम्न आएका हौं । हिउँसँग खेलेर अघाएपछि कालिञ्चोक भवगतीको दर्शन गर्ने र फर्कने योजना छ ।’

यस्तै रामेछापबाट कालिञ्चोक आएका पदम कार्की हिउँ नै हिउँको पहाड हेर्न र खेल्नको लागि कालिञ्चोक आएको बताउँछन् । उनी भन्छन्, ‘आँखै अगाडि यति धेरै हिउँमा रमाउन पाएको पहिलोपटक हो ।’

कालिञ्चोकमा भगवतीको दर्शन गर्न आउनेको सङ्ख्याभन्दा हिउँ खेल्न र रमाइलो गर्न आउने धेरै हुने गरेका छन् । त्यसमध्ये पनि जोडी सहित आउने युवायुवती बढी देखिन्छन् । कुरी बजार नपुग्दै हिउँ परेका पहाडमा सयौंको सङ्ख्यामा युवायुवती झुम्मिएको देख्न सकिन्छ । जेठ असारमा हरियालीको मनोरम दृश्य देखिने कालिञ्चोक हिउँदमा हिउँले ढपक्क ढाक्ने गरेको छ । अधिकांश युवा हिउँ खेल्नका लागि कालिञ्चोक आउने गरेको स्थानीय होटल व्यवसायी बताउँछन् ।

विगतको भन्दा अहिले कुरी बजारमा दर्जनौं सुविधायुक्त होटल खुलेका छन् । जसले गर्दा कालिञ्चोक आउने पर्यटकको लागि विगतको जस्तो आवासको चिन्ता गर्नुपर्ने छैन । अनलाइन मार्फत कालिञ्चोकको होटल पनि बुकिङ गर्न सकिने स्थानीय होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि आउने पर्यटकका गाडीले तीन किलोमिटरसम्म ट्राफिक जाम हुने गरेको छ । बिदामा परिवार र साथीभाइ सहित कालिञ्चोकमा पर्यटक आउँछन् । मन्दिर पनि दर्शन गर्ने र रमाइलोसँग मनोरम दृश्यावलोकन समेत गर्न पाइने हुँदा कालिञ्चोकमा पर्यटक क्रमशः वृद्धि भइरहेका छन् ।

विशेष गरी जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने यस क्षेत्रमा बडादशैंमा देवीको दर्शन गर्न निकै भीड हुन्छ । कुरीदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकार मार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ । कालिञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने, निरोगी हुने, विश्वास रही आएको छ ।

कसरी पुग्ने कालिञ्चोक ?

काठमाडौंबाट करीब १३८ किलोमिटरको यात्रा पछि कालिञ्चोक कुरी बजार पुगिन्छ । सो यात्रा गर्न ५ देखि ६ घण्टासम्म लाग्ने गर्छ ।

प्रतिक्रिया