
पूर्व श्री ५ का पर्दापछाडि सक्रिय दुई विश्वासपात्र
काठमाडौं– सडकमा राजावादी आन्दोलनको बलियो स्वरुप देख्न थालेपछि पूर्व श्री ५ रहेका ज्ञानेन्द्र शाह हौसिन थालेका छन्। अहिले निर्मलनिवासमा सरकारमा देखिएको किचलो र राजसंस्था र हिन्दूत्वका पक्षमा लागेका नारा जुलुसका खबर सुनेर ज्ञानेन्द्र पनि दङ्ग रहेको बताइएको छ।
यहि बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ पुसदेखि राजसंस्था पुनःस्थापना र हिन्दू राज्यका लागि आन्दोलन गर्ने कार्यक्रम नै सार्वजनिक गरिसकेको छ। कार्य व्यवस्था समितिको बैठकको यो निर्णयअनुसार अब राप्रपा यहि माग गरेर सडकमा उत्रिनेछ।
त्यसअघि निर्मलनिवासमा राजावादी नयाँ पुस्तादेखि राणा खानदानको बैठक र भेटघाट बाक्लिन थालेको पनि बताइन्छ। ‘मलाई जनताले हटाएको होइन, दलहरूले पनि राजा बनाएको होइन’ भनी ज्ञानेन्द्रले भेट गरेका कतिपयलाई सुनाउने गरेको विषय सतहमा आएको छ।
यसले राजसंस्था र हिन्दूत्वका पक्षमा अब फेरि आन्दोलन र जनमतको बोलबाला हुने संकेत मिलेको छ। त्यसका लागि निर्मलनिवासमा बेलामौका बैठक समेत हुने गरेको स्रोतले जनाएको छ।
ज्ञानेन्द्रले यसका लागि राप्रपा अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई खासै विश्वास गरेका छैनन्। राप्रपा छाड्न लागेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई पर्दापछाडिका विश्वास गरेको बताइन्छ।
‘राजसंस्थाका निम्ति दलीय स्वार्थमा नभई सदनमा समेत व्यापक आवाज उठाउने लिङ्देन र सडकमा प्रभाव जमाउन सक्ने राणालाई विश्वास महाराजले विश्वास गरिबक्सेको छ’, निर्मल निवासस्थित स्रोतले भन्यो,‘झापामा गरिएको सभापछि लिङ्देनको स्वास्थ्यमा देखिएको समस्यामा पनि महाराज चिन्तित भइबक्स्यो।’
अहिले राणा र लिङ्देन नै आगामी आन्दोलनमा राजावादी नेताका रुपमा स्थापित हुने निर्मल निवासको विश्वास पनि छ। ‘आगामी फागुन ७ गतेसम्ममा प्रजातन्त्र दिवसको अवसर पारेर ज्ञानेन्द्रले कडा खालको सम्बोधनको तयारी पनि गर्नुभएको छ’, निर्मल निवासनिकट अर्को स्रोतले भन्यो,‘अहिले अन्तर्राष्ट्रिय शक्तिले पनि नेपालमा स्थायी संस्था चाहिन्छ भन्ने ठानेको र राष्ट्रपति संस्थाको दुरुपयोग भएको सबैले देखेकै छन्।’



कागजपत्र |
