
काजकिस्तानमा प्रदर्शनको क्रममा १६४ जनाको मृत्यु
एजेन्सी – काजकिस्तानमा सरकारविरोधी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १६४ पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अुनसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किँदै गएपछि भएको झडपमा परी उनीहरूको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार मृत्यु भएकाहरूको सङ्ख्या अझ बढी पनि हुन सक्छ ।
झन्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा भइरहेको प्रदर्शनको कारण उत्पन्न अशान्तिपछि झन्डै छ हजार मानिस विस्थापित भएका छन् । आन्दोलनमा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको अल्माटी सहरमा मृत्यु भएको हो ।
मृतक सङ्ख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रूपमा देखिएको छ ।
राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि छन् ।
“सामान्यतया देशभरको अवस्था अहिले स्थिर रहेको छ तर केही ठाउँमा सुरक्षाकर्मी बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरूले सुरक्षा कारबाही पनि चलाएका छन्,” वक्तव्यमा लेखिएको छ ।
राष्ट्रपति कासिम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालासँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो ।
मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गरेका थिए।
आन्दोलनकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् ।
आन्दोलनका क्रममा अरू सयौँ गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।



कागजपत्र |
