भारतमा २४ घण्टामा १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि


एजेन्सी – कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ जना संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको तुलनामा २१ प्रतिशत बढी हो ।योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय ८५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय ९१ पुगेको छ । भारतभर हाल ३ लाख ८६ हजार ५ सय एक जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४० हजार ८ सय ९५ जना निको भएको जनाएको छ । सन् २०२१ को जनवरी १६ बाट कोभिडविरुद्धको खोप अभियान सुरु गरेको भारतले १ अर्ब ५० करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइसकेको जनाइएको छ ।

यसैबीच, भारतमा नयाँ भेरिएन्टबाट पहिलो पटक एक जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले राजस्थानमा ७४ वर्षीय एक पुरुषको ओमिक्रोन संक्रमणका कारण ज्यान गएको जनाएको हो । मधुमेहका रोगी उनको केही दिनदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया