‘ओलीले कोरोनाबाट जोगिन अम्बाको पात खानुस् भन्दा देउवाले खोप-खोप-खोप भन्नुभयो’


ताप्लेजुङ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री हुँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अवैज्ञानिक तर्क गरेर हाँसोको पात्र बनेको बताएका छन्।

ताप्लेजुङको साब्लाखु भञ्ज्याङमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा शर्माले ओलीले कारोना भाइरसबाट जोगिन खोपलाई भन्दा पनि जडिबुटीलाई प्राथमिकता दिएको भन्दै आलोचना गरे।

‘त्यतिबेला ओलीले प्रष्ट भाषामा बुझिने गरी हर्रो र अम्बाको पात पकाएर खाँदा कोरोना चट् हुन्छ भन्नुभयो,’ शर्माले भने, ‘हाम्रा सभापतिको बोली बुझिँदैन भन्छन्। तर उहाँले प्रधानमन्त्री हुनेबित्तिकै कोरोना नियन्त्रणको लागि खोप- खोप-खोप भनेको त तपाइँहरूले बुझ्नुभयो होला नि।’

महामन्त्री शर्माले नेताको बोली नभएर कर्म र भाषण नभएर शासन बुझिने हुनुपर्नेमा जोड दिए। उनले एमाले र माओवादीले पार्टी एकता गरेर सरकार बनाए पनि ओलीसँग सत्ता सञ्चालन गर्ने ढंग नहुँदा कम्युनिष्टको सरकार ढलेको बताए।

‘त्यतिबेला उनीहरुले अबको ५० वर्ष हामी शासन गर्छौं भने, हामीले ठीकै छ सरकार चलाओ न त भन्यौं। तर, जनता कोरोना कहरले आक्रान्त भइरहँदा बालुवाटारमा बसेर उनीहरुले कुर्सी तानातान गरिरहे,’ महामन्त्री शर्माले भने।

प्रतिक्रिया