

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सप्ताहान्तमा कर्फ्युको घोषणा, बिहारमा पनि नयाँ प्रतिबन्ध

भारत – भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । मङ्गलवार भारतको राजधानी दिल्लीका अधिकारीहरूले सप्ताहान्तमा कर्फ्यु लगाउने निर्णय गरेका छन्।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले सबै गैर अत्यावश्यकीय गतिविधिमा शुक्रवार राति देखि सोमवार बिहान सम्म प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् ।
यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोनाबाट संक्रमित छन् ।
उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरे । उनले सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने बताए । निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताए ।
भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि कोरोना संक्रमण दर बढ्ने क्रम जारी छ । पन्जाब सरकारले रात्रीकालीन कर्फ्यु जारी गरेको छ र सबै विद्यालय तथा कलेजहरू बन्द गरिएका छन्। कैयौँ भारती राज्यहरूले हालसालै कोभिडका कारण कडा प्रतिबन्धात्मक नियमहरू लगाएका छन्।
तर दशौँ हजार मानिसहरू सहभागी हुने राजनीतिक प्रदर्शनहरूमा रोक लगाइएको छैन।
बिहारमा पनि नयाँ प्रतिबन्ध
संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी गरिएको छ । राज्यभरका प्री(स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइनमार्फत् पढाइने छ ।
यसैगरी कक्षा नौदेखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ ।
सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ ।
नयाँ नियमहरु ६ जनवरी (बिहीबार)देखि लागू हुने र २१ जनवरीसम्म जारी रहने छ ।
एम्स अस्पतालको बिदा रद्द
संक्रमण दर बढेपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स अस्पताल०ले आफ्ना कर्मचारीहरुलाई दिइएको जाडो बिदा रद्द गरेको छ । सोमबार एक सूचना जारी गरी बिदामा बसेकाहरुलाई अस्पतालमा फर्किन भनेको छ ।
सूचनामा भनिएको छ, ‘कोभिड १९ र ओमिक्रोनको संक्रमण बढेकाले ५ देखि १० जनवरीसम्म दिइएको जाडो बिदा रद्द गर्ने निर्णय गरिएको छ ।’

