बेलायतमा एकै दिन दुई लाख बढी सङ्क्रमित, स्वास्थ्य क्षेत्र संकटकाल


लन्डन – बेलायतमा दैनिक कोरोना सङ्क्रमितको  सङ्ख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्न थालेको छ  ।  बितेको २४ घण्टामा दुई लाख भन्दा बढी सङ्क्रमित भएका छन् जुन महामारीयताकै नयाँ कीर्तिमान हो ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप दुई लाख १८ हजार ७२४ मा नयाँ सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित सङ्ख्या एक साताभित्र ६८ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३६ लाख ४१ हजार ५२० पुगेको छ । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण बेलायतमा सङ्क्रमण दर अत्यधिक रूपमा बढेको हो । सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या पनि उकालो लाग्न थालेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्ने अनुमान गरिएको छ ।  सङ्क्रमण  दर बढेसँगै अस्पतालहरूमा पनि बेडको अभाव हुनसक्ने चिन्ता बढेको छ ।

स्वास्थ्य  क्षेत्रमा कार्यरत कर्मचारीहरू नै सङ्क्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) मा काम गर्ने कर्मचारीहरूमध्ये अहिले १० जनामा एकजना कर्मचारी सङ्क्रमित भएर अनुपस्थित भएको बताइएको छ । करिब एक दर्जन अस्पतालमा कर्मचारी अभावका कारण संकटको अवस्था सृजना भएको समाचार माध्यममा उल्लेख गरिएको छ । अस्पतालमा माता नभई अन्य क्षेत्रमा समेत कर्मचारीहरू आइसोलेशनमा बस्न थालेपछि कर्मचारीको अभाव हुन् थालेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हालसम्म कोरोनाका कारण एक लाख ४८ हजार ९४१ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया