चिसोसँगै छालाका राेगहरू बढ्न सक्छन्, यसरी अपनाउनुस् सावधानी !


चितवन – चितवनसहित तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ । भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा. प्रशन्न नापेले चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।

जाडो महिनामा विशेषगरी मानव छालामा पानीको मात्रामा कमी हुने, छाला सुक्खा हुनेहुँदा छालासम्बन्धी समस्या देखापर्ने गरेको डा. नापेले बताए । “छालामा हुने सुक्खापनका कारण सोरायसीस, इथायसीसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी मात्रामा देखिने गरेको छ”, डा. नापेले भने, “चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या देखिने गरेको छ ।” चिसोको कारण एलर्जी देखिनेलाई नापेले चिसोबाट जोगिन सुझाव दिए ।

चिसोको एलर्जी हुने मान्छेले पञ्जा लगाएर काम गर्नुपर्ने डा नापेको सुझाव छ । छालामा सङ्क्रमण देखिएको अवस्थामा उपचार गर्नुपर्ने, आफैँले जथाभावी औषधि प्रयोग गर्नुभन्दा पनि छालारोग विशेषज्ञलाई देखाउनुपर्ने डा. नापेको भनाइ छ । चिसोमा छालामा देखिने सोरायसी भन्ने रोग बल्झिन पनि सक्ने भएकाले चिकित्सकलाई देखाएरमात्रै औषधि सेवन गर्न उनको सल्लाह छ ।

भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा. शशि हिराचनले जाडोमा शरीरलाई चिल्लो पार्न भन्दै तोरीको तेल लगाउने प्रचलन भएको उल्लेख गर्दै तोरीको तेलभन्दा नरिवलको तेल प्रयोग गर्नु उपयुक्त हुने बताए । जाडोका कारण मानिसको छालामा समेत टिबी रोग लाग्ने भन्दै वरिष्ठ छालारोग विशेषज्ञ डा. हिराचनले टिबीका कारण मानिसको सबै अङ्गमा प्रभाव पर्न सक्ने बताए । छालामा देखिने टिबी पुरानो खालको दादजस्तो देखिने भएकाले त्यसको बायोप्सी परीक्षण गर्नुपर्ने डा. हिराचनले बताए ।

प्रतिक्रिया