


मर्निङ वाकको नाममा बिहान नडुल्नुस्, स्वासप्रश्वासमा असर गर्न सक्छ

काठमाडाैँ – हाल देशभर मौसम सामान्यतया सफा छ भने तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (मंगलबार) बिहान ६ बजे महाशाखाले २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरी बिहानको समय काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट ज्यान जोगाउन सुझाव दिएको छ।
‘बिहानको समयमा उपत्यकालगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, चेतावनीमा भनिएको छ। स्वास्थ्यकर्मीहरूले पनि हुस्सु लागेकाे समयमा मर्निङवाक नगर्न सुझाएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न सतर्कता अपनाउन उक्त क्षेत्रका सबैमा महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले अगाडि भनेको छ, ‘साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनहुनसमेत अनुरोध छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसका कारण आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्ब्र १ मा मौसम आंशिक (थोरै आकाशमा बादल) देखि सामान्य (धेरैजसो आकाशमा बादल) बदली रही बाँकी स्थानमा आंशिक बदली हुनेछ।
यस्तै राति (साँझ ६ बजेसम्म भोलि बिहान ६ बजेसम्म) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। साथै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

