

शंकर पोखरेल खुमलटार पुगे, नेम्वाङले मंगलबार साँझ भेटेका थिए प्रचण्ड

काठमाडौं– संवैधानिक परिषदसम्बन्धी अध्यादेश आएपछि झन् उत्कर्समा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान तथा पार्टी विभाजन रोक्नका लागि दोस्रो पुस्ताका नेता सक्रिय भएका छन्।
सरकारले नयाँ अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकसमेत राखिसकेपछि झन् उत्कर्समा पुगेको विवादलाई साम्य पार्ने कोशीशमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नजिक ठानिएका स्थायी समिति सदस्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बुधबार बिहानै खुमलटार पुगेका छन्।
स्थायी समिति बैठक अघि नै कुनै सहमतिको शुत्र फेला पर्ने आशमा पोखरेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्नका लागि खुमलटार पुगेका हुन्। अध्यादेशले विवाद ल्याएपछि मंगलबार साँझ प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी भेटेर अध्यादेश फिर्ता लिनका लागि सुझाव दिने तय गरेको थियो।
त्यसपछि अध्यादेशबारे जानकारी लिन प्रचण्डले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग खुमलटारमा भेटेर जानकारी लिएका थिए। सो क्रममा पार्टी विभाजनबाट रोक्न आफू तत्पर रहेको प्रचण्डले बताएको नेम्वाङले सार्वजनिक गरेका थिए।

