एकैदिन ४४०० बढी उडान रद्द !

कठोर माैसम र कोरोनाका कारण अमेरिकामा मात्रै २५०० बढी उडान रद्द


न्यूयोर्क – कोरोनाभाइरस र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ।

शनिवार विश्वभर झन्डै ४,४०० उडानहरू रद्द गरिएकामा २,५०० भन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ।

वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो।

यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो।

अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओ’हेर र मिडवे विमानस्थलबाट हुने उडान थिए।

युनाइटेड एअरलायन्सले एउटा विज्ञप्तिमा भनेको छ, “आज गरिएका रद्दहरू ओमिक्रोनले कर्मचारीमा पारेको असर मौसमसँग जोडिएका कारण हुन्।”

“कठोर मौसमको अनुमानमा हामीले पहिल्यै उडानहरू रद्द गरेका हौँ। उडानहरू रद्द भएकाको हकमा हामीले पहिल्यै अर्को बुकिङ वा अन्य योजना बनाउन मिल्ने गरी खबर गरिरहेका छौँ।”

आइतवार धेरैजसो मानिसहरू क्रिसमसको बिदा सकेर घर फर्कंने दिन थियो।

शिकागोको ओ’हेर विमानस्थलमा अलपत्र परेका एकजना यात्रुले एबीसी न्यूजसँग भने, “निकैबेर भयो। यहाँ बस्ने र खाने ठाउँ समेत छैन।”

डिसेम्बर २४ यता अमेरिकामा १२,००० उडानहरू रद्द भएका छन्।

प्रतिक्रिया