जम्मु-कश्मीरस्थित वैष्णोदेवी मन्दिरमा भएको भागदौडमा १२ को मृत्यु


एजेन्सी – भारतको जम्मु-कश्मीरस्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। नयाँ वर्षको दिन श्रद्धालुहरुको भीडमा भागदौड मच्चिएको हो।

बिहान पौने २ बजे मन्दिर क्षेत्रमा दुई समूहको सामान्य विवादमा धकेलाधकेल भएको र त्यसपछि भागदौडको स्थिति उत्पन्न भएको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उक्त घटनामा कम्तीमा २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। वैष्णोदेवी मन्दिरको त्रिकुटा पहाडमा अवस्थित गर्भगृह क्षेत्रमा घटना भएको हो।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतले शोक व्यक्त गरेका छन्। भागदौडमा मृत्यु भएकाका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट भारतीय दुईदुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता मोदीले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया