आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात पर्ने, देशभर चिसो बढ्ने


काठमाडौं – बिहानैबाट देशका केही स्थानमा वर्षा भैरहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।

काठमाडौंमा आज बिहान ६ बजे ६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो १३ देखि १५ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सातवटै प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताइन् ।

काठमाडौंमा भने आज वर्षाको सम्भाना न्यून रहेको छ ।

आजराति देशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली  र बाँकी भू–भागमा आंशिक बदली  रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्क रहन विभागले आग्रह गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

प्रतिक्रिया