आजबाट मौसममा सुधार आउने तर, जाडो बढ्ने


काठमाडौं –  हिउँदे वर्षाका कारण देशभर नै पानी परेर जनजीवन कष्टकर बनिरहेको बेलामा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहीबारबाट मौसममा सुधार आउने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट उपत्यकाको मौसममा क्रमिक सुधार आइ घाम लाग्न सक्ने देखिएको छ । मौसम विभागका मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौंमा पानी पर्ने सम्भावना निकै कम छ तर जाडो भने बढ्नेछ । बुधबार काठमाडौंको अधिकतम तापक्रम ८ डिग्री सेल्सियसमा झरे तापनि केही दिनयता आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम ७ दशमलव ७ रहेकाले दिनभरि पानी परे पनि धेरै जाडो भने महसुस नभएको हो । तर, बुधबार दिनभरि घाम नलागेका कारण बिहीबार भने तुलनात्मक रूपमा जाडो बढ्नेछ । त्यसैले पानी नपरे तापनि बालबालिका तथा ज्येष्ठ नागरिक सकेसम्म घरभित्रै बस्न स्वास्थ्यविद्हरूको सुझाव छ ।

मौसम विभागका अनुसार पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले मंगलबार रातिदेखि देशका विभिन्न भागमा हिउँदे वर्षा शुरू हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातसमेत भएको छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार दिनभरि अविरल पानी पर्नुका साथै उपत्यकाका अग्ला पहाड फुल्चोकी, शिवपुरी र चन्द्रागिरिमा हिमपातसमेत भएको थियो । मौसम विभागका अनुसार बुधबार बिहान काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको थियो ।

बुधबार देशभरि नै वर्षा भएकोमा बिहीबारदेखि उपत्यका र तराई क्षेत्रमा मौसम सुधार हुने तर पहाडी क्षेत्रमा भने सामान्य बद्ली भई थोरै स्थानमा पानी पर्ने मौसम विभागले जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा भने अझै हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

वर्षाका कारण काठमाडौंबाट नेपालभित्रै हुने हवाइ सेवा पनि अवरूध्द भएकाे थियाे ।

प्रतिक्रिया