वैदेशिक रोजगारीमा चुनौतीका चाङ : परराष्ट्रमन्त्री खड्का


काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली युवाहरुले वैदेशिक रोजगारीका क्रममा भोगेका समस्या र चुनौती देख्दा रोदनको अवस्था सिर्जना हुने बताएका छन ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले वैदेशिक रोजगारीमा चुनौतीका चाङ रहेको बताएका हुन् ।

‘वैदेशिक कामदारका समस्या देख्दा रोदनको अवस्था सिर्जना हुन्छ । उनीहरुले नारकिय जीवन बाँचिरहेका छन । उनीहरुले गरेको कमाई बिचौलियाहरुले खान्छन् । महिला कामदारका भोगिरहेका समस्या अझ कहालीलाग्दा छन्,’ उनले भने, ‘सरकारको पक्षबाट हेर्दा थुप्रै चुनौती छन । केही महत्त्वपूर्ण सुधार गर्नुपर्ने देखिएको छ ।’

कामदारहरु असुरक्षित रुपमा जाने गरेकाले यसबारे पनि सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । ‘बढी काम गराउने, एउटा काम भनेर अर्कै काम लगाउने, ओभरटाइम गरेको कामको पैसा नदिने जस्ता यावत समस्याहरु छन । कामदारहरुले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन्,’ उनले भने ।

वैदेशिक रोजगारीका विषयमा सरकारले स्पष्ट नीति तथा अनुगमनका काम प्रभावकारी रुपमा गर्न नसेकेको पनि उनले स्वीकारे । ‘लागत, सुरक्षा, सीपलगायतका विभिन्न विषयमा सरकार आफै स्पष्ट हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन,’ उनले भने, ‘यहाँ अनियमितता छ । श्रमिकहरुले विभिन्न शीर्षकमा पैसा तिर्नु परिरहेको छ । फ्रि भिषा फ्रि टिकट प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।’

अनुगमन र मूल्यांकनको काम प्रभावकारी हुन नसकेको र म्यानपावरहरुले अवैध रुपमा पैसा उठाइरहेको पनि उनले बताए । त्यस्तै, दक्ष जनशक्ति नेपाल फर्किसकेपछि उनीहरुलाई स्वरोजगारमा कसरी आवद्ध गर्ने भन्ने पनि अर्को चुनौती रहेको बताए ।

 

प्रतिक्रिया