जुम्ला, जहाँ हिउँ साँधेर खाइन्छ…


जुम्ला – अहिले देशभरि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले वर्षा र हिमपात भएको नगरकोटीले बताइन्। उनी भन्छिन्, ‘हिउँदमा यसरी पानी पर्नु सामान्य नै हो।’

बुधवार बिहान ८ बजेसम्म सबैभन्दा बढी गोरखाको बारपाकमा पानी परेको मापन गरिएको छ। त्यहाँ २९.४ मिलिमिटर पानी परेको छ। त्यसैगरी मनाङको हुन्डेमा २७.५ मिलिमिटर, चितवनमा २५.८ मिलिमिटर र लमजुङ २४.६ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद्‌ नगरकोटीले बताइन्।

‘भोलिबाट नेपालको पश्चिमी भूभागबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जानेछ,’ उनले भनिन्।

मौसमी प्रणालीको दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जुम्ला लगायत कतिपय हिमाली जिल्लामा हिउँ परेर रोकिएको भोलिपल्ट घाम लाग्दा घरनजिक वा टाढाबाट हिउँ ल्याई साँधेर खाने चलन रहिआएको छ।

जुम्लाकी भगवती आचार्यले भनिन्, ‘हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ।’ अहिलेभन्दा पनि फागुन(चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको उनले बताइन्।

त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाडौंसम्म पुर्‍याउने गरेको पनि जुम्लाका अर्का स्थानीय बासिन्दा देवेन्द्रराज गिरी बताउँछन्।

उनले भने, ‘कसैकसैले बेच्ने गरेको पनि मैले देखेको छु। तर नेपालगन्जमा रहेका मेरा आफन्तहरूले धेरै पटक हिउँ मगाएका पनि छन्।’ त्यहाँ पुर्‍याएको हिउँ आफन्तका साथै अन्य मानिसले साँधेर खाँदा कतिपय आश्चर्यजनक ढङ्गले हेर्ने र सोध्ने गरेको उनले बताए।

जुम्लामा हिउँ परेपछि खाने मात्रै नभई बालबालिकालाई हिउँको पानीले नुहाउने चलन पनि रहेको स्थानीयवासी जानकी शाहीले बताइन्।

‘चैत(वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर अग्ला डाँडामा गएर हिउँ ल्याउने र त्यहीँ हिउँ पग्लेको पानीले नुहाउने चलन अहिले पनि रहिआएको छ,’उनले भनिन्। गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन नुहाउने गरेको उनी बताउँछिन्।

हिमाली जिल्लाहर हुम्ला, जुम्ला डोल्पा, मुगु र कालिकोटमा हिउँ परेको समयमा विशेषगरी मकै, सिमी, भट्मास, गुराँस, गहतलगायत गेडागुडीको तथा सखीको खुट्टाको झोल बनाएर खाने चलन रहेको यहाँका स्थानीयवासी बताउँछन्।

चिसोको समयमा घरभित्रै बसेर आगो ताप्ने र गेडागुडी पकाएर खाने चलन पहिलादेखि नै रहिआएको जुम्लाकी ६८ वर्षीया बिजुली उपाध्यायले बताइन्।

मंसिरदेखि फागुनसम्म हिमाली जिल्लामा हिउँ पर्ने भएर आफूहरूले पहिलादेखि नै हिउँदमा आगो बाल्नका लागि दाउरा अनि खानका लागि तरकारी तथा पिठो र चामल सबै जम्मा गरेर राख्ने चलन रहिआएको उनले बताइन्।

उनका अनुसार हिउँ परेको समयमा महिलाहरूले घरभित्रै बसेर सिरक तक्ने, भेडाको ऊन छान्ने, पोते उन्ने, स्वेटर बुन्ने र बालबालिका तथा ज्येष्ठ नागरिकका लागि तातोतातो खाने कुरा बनाएर समय समयमा खाने गर्छन्।

हिउँ परेको समयमा लोककथाहरू सुनाउने रमाइलो गर्ने चलन रहिआएको उनी बताउँछिन्। बिबिसि

प्रतिक्रिया