ओमिक्रोन भेरियन्ट: युरोपियन मुलुकमा भयावह रुप लिने खतरा ,फ्रान्समा एकैदिन एक लाख ७९ हजार बढिमा संक्रमण पुष्टि


एजेन्सी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ । फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो । युरोपका इटाली, ग्रीस,पोर्चुगल र इंग्ल्याण्डमा पनि दैनिक संक्रमितको संख्या अधिक देखिएको छ ।

क्रिसमसको समय परेकाले अघिल्ला दिनहरुको पनि तथ्यांक रिपोर्ट गर्न बाँकी रहेको हुन सक्ने भएकाले दैनिक संक्रमितको संख्या अधिक देखिएको हुन सम्ने पनि बताइएको छ ।

अध्ययनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा गम्भीर बिरामी पार्ने सवालमा कमजोर रहेको देखिएको छ । ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु गम्भीर बिरामी पर्ने सम्भावना ३० देखि ७० प्रतिशत कम रहेको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको छ ।

युरोपको इटालीमा मंगलबार ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रीसमा २१, ६५७, साइप्रसमा २, २४१ तथा इंग्ल्याण्डमा एक लाख १७, ०९३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया