

परिषद बैठकमा देउवा नजाने, बहुमतका आधारमा प्रधानमन्त्री ओलीले निर्णय लिने

काठमाडौं– अहिले केहीबेरपछि हुने संवैधानिक परिषदको बैठकमा प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्।
उपसभामुख नै नरहेको अवस्थामा ५ सदस्यीय परिषदमा देउवा पनि सदस्य छन्। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको परिषदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्नी सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सदस्य छन्।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेको अवस्थामा ५ सदस्यीय परिषदमा बहुमतले विभिन्न आयोगमा नियुक्तिको तयारी गरेका छन्। उनको जोडबल सभापति देउवालाई बैठकमा आउनका लागि रहेको उच्च स्रोतले जनाएको छ।
देउवा नआएको खण्डमा कांग्रेसको कोटा खाली राखेर बहुमतका आधारमा निर्णय लिने तयारीमा ओली छन्। सभामुख सापकोटा सहभागी नभए पनि ५ जना सदस्यका हिसाबले बहुमतका लागि प्रधानमन्त्री ओलीसहित, प्रधानन्यायाधीश राणा र राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले निर्णय लिन सक्नेछन्।
प्रधानमन्त्री ओली देउवाको सहभागीताका लागि मंगलबारको बैठक स्थगित गर्न सक्ने मुडमा पनि छन्। तर देउवाको सकारात्मक जवाफ नआए निर्णयार्थ प्रस्तुत हुनेछन्।
‘कांग्रेसका कोटामा केही मानिसको नियुक्ति हुन सक्छ, ति कोटा खाली राखेर प्रधानमन्त्री ओलीले नियुक्ति अगाडि बढाउन सक्ने सम्भावना छ’, उच्च स्रोतले भन्यो,‘विभिन्न आयोगमा रिक्त रहेका प्रमुख र सदस्यको पदलाई पूर्णता दिनका लागि पार्टीभित्रै असहयोग भएपछि अध्यादेश आएको थियो।’
नेकपाभित्रको आन्तरिक विवादका कारण सभामुख सापकोटा दुई पटक परिषदको बैठकमा नगएका कारण प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी विधयेक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो। मंगलबार पुगेको विधयेकलाई राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण गरेकी थिइन्।

