सभामुख सापकोटा नेकपा विवादको प्रभावमा, संवैधानिक परिषद बैठकमा अनुपस्थित


काठमाडौं– सभामुख अग्नी सापकोटा राजनीतिक प्रभावमा परेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सापकोटाले असहयोगको नीति लिएका हुन्।

आइतबार बस्न नसकेको संवैधानिक परिषदको बैठक प्रधानमन्त्री ओलीले मंगलबार बिहान बोलाएका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेपछि सभामुख सापकोटा बैठकमा अनुपस्थित भई परिषद अध्यक्ष समेत रहेका ओलीलाई असहयोग गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भए पनि सापकोटाको अनुपस्थितिले विभिन्न संवैधानिक निकायमा हुनुपर्ने नियुक्तिमा प्रभाव परेको छ।

‘आइतबारको बैठकमा पनि सभामुख सापकोटा सहभागी हुने कुरा थिएन तर देउवाको पत्रका आधारमा बैठक सारिएको थियो, मंगलबार पनि तयारी अपर्याप्त भएको कारण देखाएर सभामुख गएनन्’, उच्च स्रोतले भन्यो,‘प्रचण्डको आग्रहका कारणले नै उनी बैठकमा सहभागी नभएका हुन्।’

परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ। परिषद बैठकमा सबैको उपस्थितिका आधारमा विभिन्न संवैधानि निकायमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ।

नेकपाभित्रको जारी विवादका कारण प्रचण्ड–माधव नेपाल समूहले विभिन्न निकायको नियुक्तिमा रोक लगाउनका निम्ति सभामुखलाई अनुपस्थित हुन भनिएको थियो।

नेकपा सचिवालयमा प्रचण्डले राजनीतिक प्रस्तावका रुपमा पेस गरेको प्रतिवेदनमा ओलीले मनलाग्दी नियुक्ति गरेको भन्ने उल्लेख गरेका थिए। यस्तै उक्त प्रतिवेदन अहिले स्थायी समितिमा पुगेको छ।

‘सरकारलाई काम गर्न नदिनका लागि अनेक प्रकारका प्रभाव पार्ने काम गरिएको छ, यसको प्रभावमा सभामुख पनि परे’, स्रोतले भन्यो,‘नेकपाको राजनीतिले संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति हुन नसक्ने अवस्था आयो।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा सदस्यका पद खाली छन्। ४६ वटा त अध्यक्ष नै नियुक्त गर्न बाँकी छ। 

प्रतिक्रिया