संयोजक पाण्डेद्वारा पार्टीको कारबाही अस्वीकार


काठमाडौं – विवेकशील साझा पार्टीको संयोजक मिलन पाण्डेले आफूमाथि गरेको कारबाही अस्वीकार गर्ने बताएका छन् ।

मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डेलाई कारबाही गरेको थियो । तर पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताए ।

‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’ उनले भनेका छन् ।

पार्टीभित्रको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको भन्दै पाण्डेले भने, ‘मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ ।’

मंगलबार बिहान विवेकशील साझा पार्टीमा हालका केन्द्रीय समिति सदस्य समेत रहेको २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा गरेको पाण्डेले बताएका छन् ।

 

प्रतिक्रिया