केएमसी कलेजको होस्टलमा एक विद्यार्थीको मृत्यु, होस्टेलको लापरबाही भन्दै विद्यार्थी आन्दोलनमा


काठमाडौं – राजधानीकै प्रतिष्ठित कलेज मानिएको बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) का एक विद्यार्थीको होस्टेलभित्रै मृत्यु भएको छ।

रौतहटको गढीमाई नगरपालिका घर भई हाल कलेजको होस्टलमा बस्दै आएका सोही कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सुशील सहनीको मृत्यु भएको महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी मीनबहादुर क्षेत्री कुँवरले जानकारी दिए।

सोमबार दिउँसो मोडल कलेज होस्टेलमा रहेको बाथरुममा नुहाउने क्रममा उनी बेहोस भएका थिए। त्यसपछि उपचारको क्रममा अस्पताल लगिएका युवक सनहीको मृत्यु भएको डिएसपी कुँवरले बताए।

कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको भन्दै आज बिहानै देखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। मृतकका आफन्त, कलेज प्रशासन र प्रहरीबिच घटनाको बारेमा छलफल भइरहेको छ।

‘आफन्तहरू अहिले छलफलमा हुनुहुन्छ। केही विद्यार्थीहरूले आन्दोलन गरिरहनु भएको छ,’ डिएसपी कुँवरले भने।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया