


नेपालमा किशोरकिशोरीका लागि सञ्चालित कोरोना भाइरसविरुद्धको खोप अभियानबारे जान्नैपर्ने ६ कुरा

काठमाडाैं – सरकारले आइतवारदेखि देशका विभिन्न ५७ जिल्लामा किशोरकिशोरीका लागि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरेको जनाएको छ। यो अभियानमा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई अमेरिकी कम्पनी मोडेर्नाले उत्पादन गरेको खोप प्रदान गरिने अधिकारीहरूले बताएका छन्।
आइतवारदेखि सञ्चालित खोप अभियान पुस १४ गतेसम्म चल्ने उनीहरूको भनाइ छ। यो अभियानमा पहिलो मात्रा खोप लगाएकाहरूलाई आगामी माघ २ गतेदेखि दोस्रो मात्रा खोप पनि दिइनेछ।
खोप सल्लाहकार समितिको सुझावअनुसार यो अभियानमा मोडेर्ना खोप दिइएको अधिकारीको भनाइ छ। कुल १८ लाख ५० हजार किशोरकिशोरी लक्षित गरेर यो खोप दिन लागिएको हो।
उक्त खोप अभियानबारे सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार तपाईँले थाहा पाउनुपर्ने मुख्य कुरा:
१. कसले पाउँछन् मोडेर्ना खोप?
यो खोप १२ देखि १७ वर्षका किशोरकिशोरीबाहेक अरूलाई नदिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए।
सरकारले कुन खोप कुन समूहका व्यक्तिहरूलाई दिने भनेर खोप सल्लाहकार समितिको सुझाव अनुसार निर्णय गर्ने गर्छ।

मोडेर्ना खोप १८ वर्षमुनिका किशोरकिशोरीलाई दिन सल्लाहकार समितिले सिफारिस गरेअनुसार अभियान सुरु गरिएको उनले बताए।
उनका भनाइमा अहिले विभिन्न जिल्लामा सञ्चालित खोप अभियानमा विद्यालय जाने १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई समेटिनेछ। ‘स्कूले विद्यार्थीलाई दिने सुझावअनुसार हामीले यो अभियान सुरु गरेका हौँ,’ दाहालले भने।
२. कहाँ पाइन्छ?
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार मोडेर्ना खोप विभिन्न विद्यालयहरूमै खोप केन्द्र राखेर दिइनेछ।

त्यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन्। हाललाई विशेषगरी दुर्गम र कम विकसित क्षेत्रका जिल्लाहरू चयन गरिएको अधिकारीहरूको भनाइ छ।
दाहालले भने, ‘फाइजरको घोल्ने र बनाउने तरिका फरक छ। सुई पनि फरक खालको लाग्छ। तर मोडेर्ना अन्य खोपजस्तै भएकाले सहजताका हिसाबले पनि दुर्गम क्षेत्रमा लगेका हौँ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेको सूचनाअनुसार यो खोप अभियानमा यी जिल्ला समेटिएका छन्ः
- प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर
- प्रदेश नं २ का सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा
- बागमतीका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर
- गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी, पूर्व स्याङ्जा र पर्वत
- लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया
- कर्णाली प्रदेशका डोल्पा मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान
- सुदूरपश्चिम प्रदेशका बजुरा, बाझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर ।
३. खोप केन्द्र र खोप लगाउने समय कसरी थाहा पाउने?
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार यो अभियानका लागि खोपहरू स्थानीय तहसम्म पठाइसकिएको छ।

त्यसैले गर्दा आइतवारदेखि सञ्चालित खोप अभियान पनि सबै जिल्लामा एकै दिन र समयमा चल्छ भन्ने निश्चित छैन।
‘हामीले स्थानीय तहलाई नै समन्वयमा अभियान सञ्चालन गर्न भनेका छौँ,’ स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख दाहालले भने।
स्थानीय तह र जिल्ला खोप समन्वय समितिलाई जिम्मा दिइएकाले स्थानीय स्तरको खोप केन्द्र व्यवस्थापन स्थानीय स्तरबाटै हुने अधिकारीहरूको भनाइ छ।
उनीहरूका अनुसार सर्वसाधारणले आफ्नो क्षेत्रमा कुन मिति र कुन समयमा कहाँ खोप दिइन्छ भन्ने स्थानीय विद्यालयहरूमा गएर पनि बुझ्न सक्नेछन्।
४. मोडेर्ना कस्तो खोप हो?
स्वास्थ्य मन्त्रालयले सार्वजनिक रूपमा सूचना निकाल्दै यो खोप सुरक्षित भएको जनाएको छ। विज्ञहरूका भनाइमा चाहिँ खोप लगाएकामा सामान्य प्रभावहरू देखिन सक्छन्।
त्यस्ता प्रभावमा खोप लगाएको ठाउँमा दुख्ने, फोकाजस्तो देखिने, सामान्य ज्वरो आउनेलगायत छन्। अन्य कैयौँ खोपका तुलनामा मोडेर्ना खोपलाई निकै कम तापक्रममा भण्डारण गर्नुपर्छ।
तत्काल प्रयोग गर्नका निम्ति चाहिँ १ डिग्री सेल्सीअसमा राख्न सकिन्छ। दुई महिनाभन्दा लामो अवधिदेखि म्याद सकिने मितिसम्मका लागि माइनस २० देखि २५ डिग्री सेल्सीअस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।
तापक्रम व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले पहिलो मात्राका लागि मात्र खोप गाउँगाउँ पठाइएको अधिकारीहरूले बताए।
दोस्रो मात्राका लागि आवश्यक पर्ने खोप चाहिँ अहिले पनि केन्द्रीय भण्डारमै रहेको छ।
५. दोस्रो मात्रा कहिले र कहाँ पाइन्छ?
अधिकारीहरूले जनाएअनुसार यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउन सकिन्छ।
त्यसैलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले दोस्रो मात्रा खोप लगाउने मिति पनि तय गरिसकेको जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा आगामी माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्राका लागि खोप अभियान चलाइने उल्लेख छ।

तस्बिर स्रोत,REUTERS
त्यस अवधिमा पनि हाल खोप अभियान चलाइएका जिल्लाका सम्बन्धित खोप केन्द्रबाटै किशोरकिशोरीले खोप पाउनेछन्।
सरकारले करिब ४० लाख मात्र मोडेर्ना खोप ल्याएकाले हाल लक्षित गरिएका साढे १८ लाख बालबालिकालाई खोप पर्याप्त हुने अधिकारीहरूको भनाइ छ।
६. के विद्यालय नजाने किशोरकिशोरीले खोप पाउँदैनन्?
हाल सञ्चालित अभियानमा विद्यालय गइरहेका किशोरकिशोरीलाई लक्षित गरिएको छ। तर त्यसो गर्दा कैयौँ विद्यालय नजाने तथा भर्ना नभएका किशोरकिशोरीहरू छुट्न सक्ने चिन्ता पनि व्यक्त भइरहेको छ।
त्यसबारे राखिएको जिज्ञासामा स्वास्थ्य विभागको खोप शाखा प्रमुख दाहालले ‘आवश्यकताअनुसार उनीहरूलाई पनि खोप व्यवस्थापन गरिने’ बताए।
उनले भने, ‘हामीले स्थानीय स्तरको आवश्यकता हेरेर खोप माग गर्न भनेका छौँ। स्थानीय सरकारहरूबाट त्यस्ता बालबालिकाका लागि पनि खोप माग भएमा दिन सकिन्छ।’
उनले विद्यालयहरूमा सञ्चालित खोप अभियानमा पनि स्थानीय तहले समन्वय गरेर सो समूहका मानिसलाई विद्यालय नजाने भए पनि समेट्न सकिने जानकारी दिए।

आफ्नो क्षेत्रमा खोप लगाउन कोही पनि नछुटून् भन्ने उद्देश्य राखेर स्थानीय तहले पनि काम गरिरहेकाले लक्षित वर्गका कोही पनि नछुट्ने उनको भनाइ छ।
त्यस्तै यो अभियान सकिएपछि पनि कुनै क्षेत्रमा उक्त उमेर समूहका बालबालिका छुटेमा स्थानीय तहसँगको समन्वयमा खोप केन्द्र तोकेर खोप लगाउने सरकारको योजना छ।
अन्य जिल्लामा कुन खोप कहिले दिइन्छ?
अहिले खोप अभियान सञ्चालन भएकाबाहेक अन्य २० जिल्लामा भने फाइजर कम्पनीको खोप दिने योजना भएको मन्त्रालयले जनाएको छ।
ती जिल्लामध्ये काठमाण्डू, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा फाइजर खोप अभियान चलाइनेछ। ती जिल्लामा माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रूपन्देही, बाँके, दाङ र कैलाली जिल्लामा भने हाल खोपको मिति तय गरी नसकिएको मन्त्रालयको सूचनामा उल्लेख छ। ती जिल्लामा पछि खोप अभियानको मिति तोकिने बताइएको छ। बीबीसी

