गगन थापा दुई तिहाइको महामन्त्री !
काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट गगन थापा र मिनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दिए । १४ औं महाधिवेशनमा संस्थापनइतर समूह दुई समूहमा विभाजित भएको थियो।
कोइरालासँगै सभापतिमा संस्थापनइतर समूहबाट प्रकाशमान सिंहले पनि उम्मेदवारी दिएका थिए। संस्थापनइतर समूह विभाजित भएसँगै महामन्त्रीमा थापा र रिजालले हार्नसक्ने विश्लेषण गरिएको थियो। सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले पनि हार्ने अनुमान थियो।
महामन्त्रीमा उनीहरुसँगै शेरबहादुर देउवा र विमलेन्द्र निधिको प्यानलबाट पनि उम्मेदवार थिए। देउवाको प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल महामन्त्रीको दौडमा थिए भने निधिको प्यानलबाट डा. राजाराम कार्की मैदानमा थिए। पौडेललाई महामन्त्रीमा उठाउने हात कृष्णप्रसाद सिटौलाको छ।
गगनलाई कोइराला र विश्वप्रकाशलाई सिंहको पक्षबाट महामन्त्रीमा उठाएपछि अनेकन टिकाटिप्पणी समेत भयो। यता कांग्रेस नेता रामशरण महत संस्थापनइतर समूहमा खुलेपनि आफ्नै भाइ प्रकाशशरण देउवाको प्यानलबाट महामन्त्रीमा उठेका थिए।
त्यसैले रामशरण निकट महाधिवेशन प्रतिनिधिहरुले गगन, मिनेन्द्र र विश्वप्रकाशलाई छाडेर प्रकाशशरण र प्रदीप पौडेललाई मत दिनेसक्ने अनुमान गरियो। त्यतिमात्र होइन, गगन र विश्वप्रकाशलाई हराउनको लागि देउवा सिटौलासँग मिलेको समेत भनियो।
देउवा समूहमा पाको उमेर भएका धेरै नेताहरु नै महामन्त्री र अन्य पदाधिकारी पद हत्याउन लागि परेका कारण गगन र विश्वप्रकाश उनीहरुको प्राथमिकतामा परेका थिएनन। गगनलाई जसरी पनि महामन्त्री बन्न नदिने, चुनाव हराउने अभियानमा सिटौला लागिपरेको आरोप नेताहरुले लगाएका छन्।
देउवा विरोधी क्याम्पमा सभापतिको उम्मेदवार जो बने पनि गगन र विश्वप्रकाश महामन्त्रीको उम्मेदवार बन्ने देखेपछि सिटौलाले देउवासँग मिलेका हुन्। देउवासँग मिल्दा त्यो टिमबाट विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बन्न नदिने सिटौलाको रणनीति थियो। सोही अनुरुप भयो पनि।
गत सोमबार साँझ सभापतिको लागि सँगै केन्द्रीय पदाधिकारीलगायत केन्द्रीय सदस्यहरुको मतदान भयो। सभापतिमा शेरबहादुर देउवा पुनः दोस्रोपटक सभापतिमा निर्वाचित भए भने उपसभापतिमा कोइराला समूहबाट धनराज गुरुङ र देउवा समूहबाट पूर्ण बहादुर खड्का निर्वाचित भए।
उपसभापतिको नतिजा आएपछि बिहीबार बिहानदेखि महामन्त्रीको मतगणना सुरु भयो। महामन्त्रीमा हार्नसक्ने विश्लेषण गरिएका गगन थापा अन्ततः दुई तिहाई मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका छन्, जम्मा खसेको ४६८२ मतमा थापाले ३०२३ मत पाएका छन्। जुन प्रतिशतमा भन्दा ६४.५७ प्रतिशत हो ।
जुन दुई तिहाईभन्दा बढी हो। यसरी गगन थापा दुई तिहाईको महामन्त्री बनेका छन् नेपाली कांग्रेसको । गगनले पदाधिकारीमा सबैभन्दा लोकप्रिय मत ल्याएका हुन्। थापालाई नेपालि कांग्रेसको भावी सभापति को रूपमा पनि हेरिन्छ।
१३ औँ महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्रीको रुपमा महाधिवेशनमा होमिएका थापाले पराजय बेहोर्नु परेको थियो। उनका प्रतिद्वन्द्वी शशांक कोइरालाले महामन्त्रीको पद हत्याउन सफल भएका थिए। नेता थापा १२ औँ महाधिवेशनमा सबभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै अर्का महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। देउवाले सिटौलासँग मिलेर आफ्नो प्यानलबाट महामन्त्रीमा शर्मालाई फालेर पौडेललाई काखी च्यापेका थिए। तर, उनै शर्मा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बने। अन्तिममा आएर चुनावी प्रतिस्पर्धामा एक्लै जिते। शर्मा १९८४ मतसहित दोस्रो स्थानमा रहँदै महामन्त्रीमा निर्वाचित भए । उनले प्राप्त गरेको मत जम्मा खसेको मतको ४२ प्रतिशत हो ।
शर्मालाई नेपाली काँग्रेसभित्र एक अनुभवी र सादगी नेताको रुपमा हेरिन्छ। महामन्त्रीमा निर्वाचित शर्मा पनि भावी पार्टी नेतृत्वको आकाँक्षी हुन्। महामन्त्रीमा उठेका महतले तेस्रो स्थानमा १५५६ मत ल्याएका छन् भने सिटौला पक्षबाट उठेका पौडेलले चौथो स्थानमा १३९३ मत ल्याए। महतले जम्मा खसेको मतको ३३ प्रतिशत प्राप्त गरे भने पौडेलले ३० प्रतिशत मत पाउन सफल भए ।
यस्तै कोइराला समूहबाट महामन्त्रीमा उठेका रिजालले ८०९ मत ल्याएका छन्। उनले जम्मा खसेको मतको १७ प्रतिशत मत ल्याए । महामन्त्री पराजय व्यहोरेपछि रिजालले नेपाल सरकारको रक्षामन्त्री पदबाट नै राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री समेत रहेका देउवालाई राजीनामा बुझाएका छन्।
यस्तै निधिको प्यानलबाट महामन्त्रीमा उठेका कार्कीले अन्तिम स्थानमा १०६ मत ल्याएका छन्। उनले जम्मा खसेको मतको २ प्रतिशत मात्र मत ल्याउन सफल भए । त्यस्तै ४३ मत बदर भएको पनि निर्वाचन समितिले जनाएको छ ।