एपीएफ टोलीद्वारा ५० के.जी. चरेशसहित एक पक्राउ
काठमाडौं – सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले मंसीर २७ गते राती करीव ५० के.जी. चरेशसहित धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षिय दिपक मगरलाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष्टबाट खटिएको एपीएफ टोलीले सोही जिल्लाको थाके गाउँपालिका १ खयरघारी स्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो ।
बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।
त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत एपीएफ टोलीले बरामद गरेको छ । उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका निज मगरलाई राती करीव साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो ।
उनलाई राती नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाईएको छ । उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको कुरा निज मगरले एपीएफ टोली समक्ष बताएका छन् ।