गम्भीर मोडमा पुगेको नेकपा जोगाउन ओली–प्रचण्ड समीकरण बनाउन सक्रियहरू


काठमाडौं– स्थायी समिति हुँदै केन्द्रीय समितिमार्फत बहुमतले अध्यक्ष र प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउने रणनीति एकातिर बनिरहेका बेला अर्कातिर रक्षात्मक हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुग्न नदिन केही नेताहरू सक्रिय भएका छन्।

अल्पमतमा रहेको भनिएका ओलीनिकट उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल अघिल्लो साता सक्रिय थिए। उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी एकता जोगाउनका लागि प्रस्ताव गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए।

त्यसपछि ओली–प्रचण्डबीच वार्ता समेत भएको थियो। तर अझै पनि एकीकरणमा समस्या देखिएपछि स्थायी समिति सदस्य शंकर पोखरेल सक्रिय भएका छन्। उनीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि ओली–प्रचण्ड समीकरणले मात्रै एकीकरण जोगिने भन्दै आइतबार बिहान खुमलटार पुगेका थिए। ‘एकता जोगाउनका लागि आग्रह गरेको छु, प्रचण्ड सकारात्मक हुनुहुन्छ’, उनी भन्छन्,‘एकताका लागि सहमतिको बाटोमा नै जाने सन्देश दिनुभएको छ।’

शनिबार पोखरेलले भेटेर पनि विभाजनको तहमा पुग्न नदिन २६ भदौको सहमतिको जगमा उभिन प्रचण्डलाई सुझाव दिएका थिए। विवाद अझ अगाडि बढेको भन्दै प्रचण्डले पार्टी विभाजन रोक्ने तर ओलीले पनि केही न केही योगदान दिनुपर्ने बताएका थिए।

चार महिनाभित्र महाधिवेशनको तयारी गरी सहमतिका आधारमा अध्यक्ष पद प्रचण्डलाई दिने र अर्को चुनावसम्मका लागि आफू प्रधानमन्त्री रहने ओलीको एउटा मात्रै अडानमै सहमति खोज्नुपर्ने सुझाव प्रचण्डले पाएका छन्।

‘दुर्घटना हुन नदिनुहोस्, अध्यक्ष ओलीले जे भनिरहनु भएको छ त्यस सहमतिको साक्षी हामी, स्थायी समितिका सदस्यहरू हुनेछौं’ भन्दै नेताहरूले प्रचण्डलाई एकता हुँदाको सहमति र सम्झौताको आधारमा फर्किन भनेका छन्।

पछिल्लो पटक स्थायी समिति सदस्य हरिबोल गजुरेलले पनि यहि विन्दुमा सहमति हुनसक्ने आधारसहितका तर्क गरेका छन्। उनले अर्को चुनावसम्म ओली प्रधानमन्त्रीमा कायम रहनुपर्ने बताए पनि विवाद समाधानका निम्ति महाधिवेशन नहुँदा प्रचण्डलाई अध्यक्ष दिन सकिने तर्क अघि सारेका थिए। नेकपाको महाधिवेशन चार महिनामा सम्पन्न हुने सम्भावना नरहेपछि पदका लागि नै यो विवादले चरम रुप लिएको अर्को पुस्ताका नेताहरूको धारणा छ।

प्रतिक्रिया