
राष्ट्रिय युवा संघका नेताको हत्या, हनुमन्ते खोलामा भेटियो शव
काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालका नेता राजु श्रेष्ठको हत्या भएको छ। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा श्रेष्ठको शव फेला परेको छ।
श्रेष्ठको हत्या गरेर फालिएको अवस्थामा भक्तपुरमा शव भेटिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए। ‘सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको अनुमान छ,’ पौडेलले भने।
गए राति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल कट्नासाथ कुटपिट गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी बृत्त थिमिका डिएसपी नरहरि रेग्मीले जानकारी दिए।
घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको हो।
प्रहरीले कुटपिट गरी हत्या गर्ने व्यक्तिको खोजी गरिरहेको छ। शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको र छिट्टै अपराधीको पहिचान हुने प्रहरीले दाबी गरेको छ।
श्रेष्ठ युवा संघ नेपालको भक्तपुर कमिटीका सदस्य हुन्। संघका अध्यक्ष पौडेलले हत्याराको पहिचान गरी अपराधीहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।



कागजपत्र |
