
राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण
अस्थायी कार्यकक्षमा पदभार ग्रहण
काठमाडौं – राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन् । पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले सोमबार पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले सोमबार पदभार ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा उनले निवर्तमान अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताएका थिए ।
लिङ्देनको विजयीमा पूर्वराजा ज्ञानेन्द्र शाहको षड्यन्त्र रहेको सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थापा आयोजित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।
अस्थायी कार्यकक्षमा पदभार ग्रहण
थापाकाे कार्यकक्ष प्रयाेग गर्ने विषयमा विवाद सिर्जना भएपछि लिङ्देनले छुट्टै कार्यकक्ष तयार पार्न निर्देशन दिएका थिए । लिङ्देनले सम्मानित नेताका रूपमा कमल थापालाई नै उनले प्रयाेग गर्दै आएकाे कार्यकक्ष दिएर आफ्ना लागि नयाँ कार्यकक्ष बनाएकाे बताए ।



कागजपत्र |
