
भारत-रुस २१ औं वार्षिक शिखर सम्मेलनमा सहभागी हुन पुटिन आज भारत आउँदै
नयाँ दिल्ली – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन्। नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।
शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल हुने जनाइएको छ।
‘रुसी राष्ट्रपति भ्लादमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुने,’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि बताइसकेका छन् ।
शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताए । सो वार्ताको मुख्य मुद्दा एस–४०० डिफेन्स प्रणाली आपूर्तिको रहने बताइएको छ । भारतीय मिडियाका अनुसार पुटिन र मोदीको सो भेटलाई महत्वपूर्ण भेटको रुपमा लिइएको छ । एजेन्सी



कागजपत्र |
