
गण्डकी प्रदेशको कांग्रेस सभापतिमा शुक्रराज शर्मा निर्वाचित
पोखरा – गण्डकी प्रदेशको सभापतिमा कास्कीका नेता शुक्रराज शर्मा निर्वाचित भएका छन्। संसदीय चुनावमा लगातार पराजित शर्मा पार्टीको चुनावमा भने सफल देखिएका छन्। उनी तीन कार्यकाल कास्की कांग्रेस सभापति थिए।
शर्माले ६१२ मतसहित सभापति जितेका थिए। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको थियो। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भए, उनी सभापति शेरबहादुर देउवानिकट हुन्। जोशीले जम्मा ५२८ मत मात्रै ल्याएका थिए।
गण्डकीमा एक उपसभापतिबाहेक पदाधिकारीमा पौडेल पक्षले जितेका छन्। उपसभापतिमा कल्पना तिवारी र गण्डकीका सामाजिक विकास मन्त्रीसमेत रहेका मेखलाल श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठ सभापति देउवानिकट हुन्। तिवारी स्याङ्जाका वालिङ नगरपालिकाको उपमेयर हुन्।पौडेल पक्षका तिवारीले ६२४ मत ल्याइन् भने देउवा पक्षका श्रेष्ठले ५५६ मत पाएका थिए।
महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर निर्वाचित भए। उनीहरू पौडेल पक्षका हुन्।
यस्तै महिला सहमहामन्त्रीमा ५५२ मत ल्याएर कोपिला रानाभाट निर्वाचित भइन्। खुला सहमहामन्त्रीमा रमेशकुमार पाण्डेले ६१८ मत र रामचन्द्र जोशीले ५६९ मत पाएर विजयी भए। पाण्डे लमजुङको मध्यनेपाल नगरपालिकाका मेयर हुन् भने जोशी पर्वतको कुश्मा नगरपालिकाका मेयर हुन्।



कागजपत्र |
