अध्यक्षमा पराजित भएपछि थापाले बोलाए आफूपक्षीय भेला


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भए पछि कमल थापाले आफूपक्षीय कार्यकर्ताको भेला आयोजना गरेका छन् । थापा आइतबार बिहान आएको मतपरिणाममा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

चुनावी परिणामको समीक्षा गर्न भन्दै थापा पक्षले दरवारमार्गस्थित याक एण्ड यति होटलमा भेला सुरु गरेको छ ।

‘महाधिवेशनको समीक्षा गर्नका लागि याक एण्ड यतिमा सबै नेताहरु भेला हुनु भएको छ’, थापा पक्षका एक केन्द्रीय सदस्यले भने । राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १,८१७ र थापाले १,६१७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

प्रतिक्रिया