
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाईमा प्राप्त भएको हो : प्रधानमन्त्री देउवा
काठमाडौं – कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।
शुक्रबार कांग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउँदै पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको अगुवाईमा ल्याइएको भन्दै कांग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको बताए ।
‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था हो । कांग्रेसले सबै ठूलठूला परिवर्तनको नेतृत्व गर्यो । मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व हाम्रो काँधमा छ । कांग्रेसले मात्रै यो मुलुकको विकास र समृद्धिको विकास गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।’
देउवाले महाधिवेशनबाट जनतामा मन जित्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए । १४ औँ महाधिवेशनअन्तर्गत कांग्रेसले बिहीबारदेखि प्रदेश अधिवेशन गर्दैछ । शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौँमा हुँदैछ ।



कागजपत्र |
