

अधिवेशनलगत्तै चुनावमा केन्द्रित हुन नेता, कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै तथा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।
उनले पार्टीभित्रको चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।

