एमआरपीको लागि टोकन दिन बन्द, अनिवार्य गरिँदै ई-पासपोर्ट


काठमाडौं – राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ । मंसिर २८ गतेदेखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई(पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने छ ।

विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरिसकेको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गर्ने योजना विभागको छ ।

विभागका प्रवक्ता शरदराज आरनका अनुसार अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्ने छ । ई-पासपोर्ट वितरण थालेपनि एमआरपी जारी गर्न भने विभागले बन्द गरेको छैन । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिरहेको छ ।

अब भने विभागको मुख्य कार्यालयबाट ई-पासपोर्ट मात्रै वितरण गर्ने योजना छ ।अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने तयारी पनि छ । काठमाडौं उपत्याकाका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट पनि दैनिक रुपमा ई-पासपोर्ट वितरण थाल्न लागिएको हो ।

३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ । राहदानी विभागबाट दुई दिने सेवा अवधि बुक गरेर पासपोर्ट बनाउँदा ३४ पृष्ठको दस्तुर १२ हजार र ६६ पृष्ठको रहादानीको दस्तुर २० हजार तोकिएको छ ।

प्रतिक्रिया