
जब जापानका राजदूतलाई चिनियाँ विदेश मन्त्रालयले बोलायो…
बेइजिङ – चीनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले हालै दिएको अभिव्यक्तिप्रति कडा विरोध जनाएको छ ।
‘चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप नबस्ने’ भन्ने सिन्जोको अभिव्यक्तिपछि रुष्ट बनेको चीनले जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार बुधबार साँझ जापानका राजदूत हिदेओ तारोमीलाई विदेशमन्त्रालयमा डाकिएको थियो । विदेश मन्त्रालयका अनुसार बुधबार साँझ राजदूत हिदेओलाई ‘आपत्कालीन बैठक’ का लागि बोलाइएको थियो ।
विदेश मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, ‘चीनकी सहायक विदेशमन्त्री हुआ चुनयिङले जापानका राजदूत हिदेओसँग भेटवार्ता गरेका छन्। भेटमा मन्त्री चुनयिङले सिन्जो आबेको बयानलाई गलत र चीन-जापान सम्बन्धमा स्थापित मापदण्डको उल्लंघन भएको पनि बताए ।’
चिनियाँ विदेश मन्त्रालयले ‘आबेको अभिव्यक्तिले चीनको सम्प्रभुतामाथि खुला रूपमा चुनौती दिएको र ताइवानको स्वतन्त्रताको बारेका कुरा उठाउनेलाई निर्लज्ज समर्थन गरेको’ बताएको छ । बुधबार एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले ताइवानको संकट जापानको पनि संकट हुने बताएका थिए । एजेन्सी



कागजपत्र |
