


नेपालमा भारतीय भीआईपीको दौडधुप, भाजपा विदेश विभाग प्रमुखले प्रधानमन्त्री ओली भेटे

काठमाडौं– भारतका विभिन्न उच्च अधिकारीले नेपालमा सक्रियता बढाउने उपक्रममा त्यहाँको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार भेटेका छन्।
भारतीय विदेश सचिव हर्षबर्धन श्रृगंलाले नेपालको भ्रमण गरेर फर्किएको दुई साता नबित्दै भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाल काठमाडौं उत्रिए र बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
नेकपाभित्रको आन्तरिक विवाद चलिरहेका बेलामा चौथाइवालले प्रधानमन्त्री ओलीलाई भेट्नु अर्थपूर्ण मानिएको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा चौथाइवालसँग कुराकानी भएको बताए। चौथाइवाललाई नेकपा विदेश विभागको निम्तोमा काठमाडौं आएको कतिपयले बताएका छन्।

