ओमिक्रन कोरोना भाइरसः विश्वभर सन्त्रास, धमाधम यात्रामा बन्देज
काठमाडाैं – अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनको सन्त्रास बढेको छ । विश्वका कतिपय देशले नयाँ प्रजातिको कोरोना भाइरस खतरनाक भएकोले यात्रामा कडाई गरेका छन् ।ओमिक्रन सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको हो । यो छिट्टै अन्य महादेश र देशहरुमा फैलन थालेको छ । अहिलेसम्म ४ मुलुकहरुमा ओमिक्रन पत्ता लागेको छ ।
जर्मनीमा शंकास्पद ओमिक्रन फेला परेको भन्दै अध्ययन भइरहेको छ । सम्भावित संक्रमणको फैलावटलाई दृष्टिगत गरी अमेरिका, क्यानडा, रुस र युरोपेली युनीयनसम्वद्ध अन्य मुलुकहरुले यात्रामा कडाई गरेका छन् । विश्व स्वास्थ्य संगठनले नयाँ प्रजातिबारे सजकता अपनाउने घोषणा गरेपछि यात्रामा बन्देजहरु लगाइएका छन् ।
यूरोपेली देश र अमेरिकाले अफ्रिकाका संक्रमित देशहरुबाट यात्रामा रोक लगाएका छन् । ओमिक्रन निकै छिटो फैलन प्रजातिको कोरोना भाइरस भएको तथ्य फेला परेको छ । यो बोटस्वाना हङकङ र बेल्जियममा फेला परेको छ ।
यो दक्षिण अफ्रिकामा निकै द्रुत गतिमा फैलिइरहेको तथ्य फेला परेको छ । युरोपेली सेन्र फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले ओमिक्रन प्रजाति निकै डरलाग्दो भएको उल्लेख गरेको छ । यसकारण पनि विश्वभर सन्त्रास बढेको छ । एजेन्सी