कांग्रेस महाधिवेशनः ललितपुरमा गुण्डागर्दीमा उत्रियो अमात्य समूह, उदय शम्शेरमाथि हातपात


काठमाडौं – नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नारावाजी भएको बताइएको छ । मतदानका क्रममा प्रचारसामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपात गरेका हुन् ।

राणापक्षका कार्यकर्ताहरुले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका हुन् । जावलाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई रहेको छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् ।

पहिलो चरणमा सभापति पदका उम्मेदवार चित्रकारले ५०४, जितेन्द्र कुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत पाएका थिए । निर्वाचनमा १३ सय २२ मत खसेको थियो । कांग्रेस विधानमा सभापतिका उम्मेदवारले विजयी हुन खसेको मतको पचास प्रतिशत बढि मत ल्याउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया