

विश्वकपको ग्लोबल छनोट पुग्ने नेपालको सम्भावना जिवितै, मलेसिया ६ विकेटले पराजित

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप छनोटको आफ्नो चौंथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन जोड्यो। उसका लागि एलसा हन्टरको ३९ रन सर्वाधिक रह्यो। त्यस्तै थप दोहोरो स्कोरका रुपमा मस एलयसको १४ रन तथा युश्रीना यकोपको १२ रन रह्यो।
अन्य खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेन्। नेपालका लागि सबनम राईले दुई विकेट लिंदा कविता कुंवर, सिता राना मगर र रुविना क्षत्रीले समान १-१ विकेट लिए। जवाफि इनिङ सुरू गरेको नेपालका लागि सिता रानामगरले सर्वाधिक ३० रन बनाइन।
त्यस्तै कप्तान रुविना क्षत्रीले २० रन जोड्दा सरिता मगर १५ रनमा अविजित रहिन्। कविता कुंवर १० रनमा रनआउट हुँदा अप्सरा बेगम १ रनको अवस्थामा अविजित रहिन। ओपनर इन्दु वर्मा ४ रनमा आउट भएकी थिइन्।
पहिलो खेलमा हङकङसँग पराजित बनेको नेपाल त्यसपछि भने लगातार जित निकालिरहेको छ। नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो। यस्तै नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ।

