

मौद्रिक नीति समीक्षा सार्वजनिक : आयातमा कडाइ, शेयर धितोकर्जा यथावत
विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा पुनरावलोकन

काठमाडौं – नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्ने गरी मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको शेयर धितो कर्जा यथावत राखेको छ ।
शेयर लगानीकर्ताले यही नीतिको कारण शेयर बजार घटिरहेको आरोप लगाउँदै आए पनि त्रैमासिक समीक्षमा साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिलाई नै निरन्तरता दिएको हो । विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी आयतमा दिइँदै आएको विभिन्न सुविधामा कडाइ गरेको हो ।
अब तोकिएका वस्तुहरूको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, डकुमेन्ट अगेन्ट पेमेन्ट र डकुमेन्ट अगेन्ट असेप्टेन्सको विद्यमान सीमा पुनरवलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ । बैंकले चाँदी आयतमा पनि कडाइ गरेको छ ।
ड्राफ्ट/टीटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा प्रदान गर्न पाउने व्यवस्था गरेको छ । यता, उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि नीतिगत सहजीकरण गरेको छ ।
‘व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ’, शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्दै भनेको छ ।
राष्ट्र बैंकले मुद्रा बजारमा देखिएको तरलता समस्या समाधान गर्न विदेशी मुद्रा भित्र्याउन केही नीतिगत सहजीकण गरेको छ भने गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सहजीकरण गर्ने उल्लेख छ ।
‘विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायत विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ । गैरआवासीय नेपालीहरू तथा गैरआवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ’, मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले भनेको छ ।
केन्द्रीय बैंकले विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गर्ने भएको छ ।

