कोभिड महामारीपछि झनै बढ्यो महिला हिंसा, यस्तो छ १३ देशमा गरिएको अध्ययन


काठमाडौं – कोभिड महामारीको समयमा महिला हिंसाको घटना झनै बढेको पाइएको छ । यूएन वुमनको एक रिपोर्ट अनुसार कोभिडअघि नै कम्तीमा ३ जना महिला वा किशोरी मध्ये १ जना हिंसाको शिकार भइरहेकोमा महामारीले गर्दा त्यसमा वृद्धि भएको रिपोर्टले बताएको छ ।

महिला हिंसा विरुद्धको दिवसको अवसर पारेर यून वुमनले सो रिपोर्ट सार्वजनिक गरेको हो । हरेक वर्ष नोभेम्बर २५का दिन महिला हिंसाविरुद्धको दिवस मनाइन्छ ।

बुधबार युएन वुमनले महिला हिंसा बढी मात्रामा देखिएको १३ देशमा गरिएको अध्ययन सार्वजनिक गरेको हो । केन्या, थाइल्यान्ड, युक्रेन, क्यामरण्न, अल्बेनिया, बंगलादेश, कोलम्बिया, पराग्वे, नाइजेरिया, कोट डिभार, मोरक्को, जोर्डन र किर्गिस्तान गरी १३ देश मा अध्ययन गरिएको थियो ।

महिला हिंसाका घटना देश र जनसंख्याले फरक देखिएपनि महामारीले महिला हिंसा बढेको अध्ययनले देखाएको छ । सर्वेक्षणमा ३ महिलामा २ जनाले जीवनको एकपटक हिंसा भोगेकै बताएका छन् ।

सबैभन्दा बढी देखिएको हिंसामा मौखिक हिंसा देखिएको छ । जुन ५० प्रतिशतले भोगेका छन् साथै यौन दुर्व्यवहार ४० प्रतिशत, शारीरिक शोषण ३६ प्रतिशत, ३५ प्रतिशतलाई आधारभूत आवश्यकताबाट वञ्चित गराइएको छ भने ३० प्रतिशतलाई आधारभूत सञ्चारको माध्यमबाट बञ्चित गराइएको पाइएको छ ।

१० महिलामा ७ जनाले समुदायमा हुने महिला हिंसा साझा रहेको बताएका छन् । अधिकांश महिलाहरुले कोभिडले अवस्था झन् नाजुक भएको बताएका छन् । १० मा ७ महिलाले कोभिड महामारीले घरेलु हिंसा बढेको बताएका छन् । त्यसैगरी ५ मा ३ महिलाले सार्वजनिक स्थलमा यौन दुर्व्यवहारको घटना बढेको बताएका छन् ।

महिला हिंसा बढ्नुमा सामाजिक तथा आर्थिक कारक पनि प्रमुख रुपमा देखिएको छ । खाद्य असुरक्षाले पनि महिला हिंसाको घटना बढाएका छन् । त्यसैगरी सर्भेमा ६० वर्ष माथिका महिला होस् वा १८ वर्ष माथिका सबैले हिंसाको घटना भोगेको पाइएको छ ।

 

प्रतिक्रिया