राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको उनका बुवा लामा पासाङ शेर्पाले जानकारी दिए ।

पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगले शेर्पा पीडित थिए । रोगले थला पर्नुअघि उनले अमेरिका, भारत र चीनमा गएर उपचार गराएका थिए । शेर्पा पछिल्लो झण्डै दुई वर्षदेखि सोही केयर होम रहेर उपचार गराइरहेका थिए ।

लामो समयदेखि थलिएका शेर्पालाई पछिल्लो दुई दिनबाट भने निकै कठीन भएको बुवा शेर्पाले बताए । आजै बौद्धस्थित शेर्पा गुम्बामा लगेर उनको अन्तिम संस्कारको प्रक्रिया सुरु हुने पारिवारिक स्रोतले जनाएको छ ।

अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए । टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी छन् ।

प्रतिक्रिया